अर्घाखाँचीको सुपा देउराली मन्दिरमा सङ्कलन भएको दान, भेटीबाट दुई विद्यालय सञ्चालन 

अर्घाखाँची, असोज ११ । सरकारले घोषणा गरेका १०० उत्कृष्ट गन्तव्य मध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको सुपा देउराली मन्दिर पनि रहेको छ । मन्दिरमा आउने दर्श नार्थी बाट सङ्कलित भेटीले दुई विद्यालय सञ्चालन भएका छन् । २०० जनाभन्दा बढीले रोजगारी प्राप्त गरिरहेका छन् । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सुपा देउरालीलाई आस्थाको केन्द्र मानिन्छ ।

जहाँ विभिन्न ठाउँबाट दर्शन गर्न आउने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । यो मन्दिर सरकारले घोषणा गरेका १०० नयाँ गन्तव्यमध्येमा पर्न सफल भएको छ । दर्शनार्थीको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सन्चालन भइरहेका छन् । जसमध्ये सन्धिखर्क नगरपालिका–८ का बलबहादुर सारु र उनका दुई साथीले संयुक्तरुपमा फोटो स्टुडियो सन्चालन गरेका छन् । अधिकांश दर्शनार्थीले मन्दिरको दृश्यसँगै फोटो खिचाउने भएकाले यसबाट उनीहरुको व्यवसाय राम्रोसँग चलिरहेको छ ।

मन्दिरमा भक्तजनको चहलपहल बढ्ने भएकाले सीतापुरदेखि नरपानीसम्म २०० भन्दा व्यक्तिले व्यवसाय सन्चालन गरिरहेका छन् । जसमध्ये फोटो स्टुडियो, पूजा सामग्री तथा होटल व्यवासाय गरेकाहरुले राम्रै कमाइ गर्न सफल भएका छन् । सोही ठाउँमा पूजा सामाग्री पसल चलाउँदै आएका कपिलवस्तुका खिमलाल भुसाल पनि यसबाट सन्तुष्ट देखिन्छन् । यसका अतिरिक्त मन्दिरमा संकलित भेटीबाट दुईओटा विद्यालय सन्चालन र सामाजिक काममा पनि सहयोग भइरहेको छ । मन्दिरमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँ भेटी उठ्ने गरेको छ । इमेज खबर बाट

Related posts

Leave a Comment