त्रिचालिस बर्षकी सरस्वती भन्छिन् सकुन्जेल सम्म मोटरसाइकलनै बनाउछु !

काठमान्डौ / त्रिचालिस बर्षको उमेर मा पनि मोटरसाइकल बनाउने महिला सुन्दा सबैलाई अचम्म लाग्न सक्छ सबै काम पुरुष हरुले मात्र गर्नुपर्छ भन्ने छैन महिला हरु ले पनि जस्तो काम पनि गर्न सक्छन भन्ने कुराकी उदाहरनिय पात्र हुन् सरस्वति सुवाल ! एउटी  महिला भएर पनि पुरुष ले जस्तै मोटरसाइकल वर्कसप मा काम गर्नु कुनै चानचुन कुरा होइन !उनलाइ आफ्नो कामप्रति गर्व छ !

सडक छेवैमा थोत्रा मोटरसाइकल लाइनै छन्। भित्र बाइकका पाटपूर्जा छरपस्ट। सटर बारेर त्यसको आडैमा एउटा सानो कोठा निकालिएको छ। भित्र दुइटा टेबल छन्। प्लाष्टिकका बट्टाहरूमा राखिएको नुन, चिनी, चियापत्ति, देखिन्छ।भित्तामा गोलभेँडाको पोको पनि झुन्ड्याइएको छ।यो रातोपुलस्थित आशिष मोटर साइकल वर्कशपको भान्सा हो, सरस्वती सुवालको भान्सा।’बिहान वर्कशप खोलेपछि खाना पकाउन घर जान भ्याइँदैन। यहीँ पकाएर खान्छौं,’ टेबलमा भएको दिउरी हटाउँदै उनले भनिन्।ग्राहकहरू माझ सरू भनेर चिनिने सरस्वती ४३ वर्षकी भइन्। उनी मोटरसाइकल मर्मत-सम्भार गर्छिन्। उनले पूर्ण रूपमा काम थालेको करिब १५ वर्ष भयो।

उसो त वर्कशप उनकै जिम्मामा छ, तर पहिलेदेखि होइन। उनी आफ्नो कथा सुनाउँछिन्। ३३ सालमा चितवनको नारायणघाटमा जन्मेकी सरस्वती परिवारकी जेठो सन्तान हुन्। उनका दुई बहिनी र एक भाइ छन्।’गाँउमा केटीहरू काम भएन भने एकैठाउँमा जम्मा भएर कुराकानी गर्थे। म एक्लै बस्थेँ, गाउँडुल्न मनपर्दैन थियो,’ उनले आफ्नो स्वभाव सुनाइन्।उनले गाउँनजिकैको स्कुलमा ६ कक्षासम्म पढिन्। त्यसपछि घरको समस्याले गर्दा पढाइ रोक्न बाध्य भएको उनी बताउँछिन्।’त्यतिखेर बुवा, आमा खेतिपाती गर्नुहुन्थ्यो। त्यसले मात्र घर धान्न नसकिने भएपछि मैले पसल चलाउन पर्ने भयो,’ उनले भनिन्।१३ वर्षको कलिलो उमेरमा ज्ञानतिर ध्यान दिनुपर्नेमा उनको ध्यान पैसातिर मोडियो। किराना पसल र होटलसँगै थियो। उनलाई घरका परिवारले पनि सहयोग गर्थे।

‘अझै नि पढ्न त मन छ, अब बुढ्यौली लागि गयो,’ उनले हाँस्दै भनिन्, ‘अहिले नि सपनामा परीक्षा दिन गएको, केही लेख्न नआएको देख्छु।’किराना र होटलमा समय बित्दै गयो। उनले आफूखुसो रोजेर सुटुक्क बिहे गरिन्। त्यतिखेर उनी १८ वर्षकी थिइन्।’घरको सबै काम मेरै जिम्मामा थियो। आमा–बाको आड र भरोसा थिएँ। भन्ने आँटै आएन, भागेँ,’ उनले भनिन्।उनका श्रीमान काठमाडौंबाट कामको सिलसिलामा उनको होटल (चितवन)मा जाने रहेछन्। त्यहाँबाट उनको प्रेम सुरू भएको थियो।’भागेर त आइयो, के गरेर खाने होला जस्तो लाग्थ्यो। उहाँ वर्कशपमा काम गर्नुहुन्थ्यो। त्यसैले घर चलेको थियो,’ उनले विगत सम्झिँदै भनिन्, ‘एकदिन घरबाट आमा-बाले बोलाए। ३ तोला जति सुन दिएका थिए। त्यसैले वर्कशप खोल्यौं।’

त्यतिखेर सुन प्रतितोला १०-१२ हजार रूपैयाँ थियो। किराना पसलमा बढी लगानी र फाइदा कम हुन्छ र श्रीमानलाई वर्कशपको काम आउने भएकाले त्यसैमा लगानी गरेको उनी बताउँछिन्। सानैदेखि काममा सक्रिय उनलाई पनि यसै बस्न मन थिएन। केही गरूँ भन्ने सोचिरहेकी थिइन्। त। अर्काको काममा जान रूचि भएन, उता पढाइ पनि थिएन। वर्कशपकै काम सिक्ने निधो गरिन्।तर किराना पसलमा काम गरेकी उनलाई बाइकबारे केही थाहा थिएन। श्रीमान उनका गुरू भए, उनी मेहनती विद्यार्थी।घरमा बाले धारा बिग्रिँदा पेन्चिसले कस्नुहुन्थ्यो, त्यही औजार मात्र चिन्थेँ,’ उनले भनिन्, ‘पछि श्रीमानले काम गर्दा पेन्चिस लेऊ, रिल लेऊ, डायल लेऊ भन्नु हुन्थ्यो। म चिन्दिनँ थिएँ, उहाँ हातको इशाराले बुझाउनुहुन्थ्यो।’विस्तारै सरस्वती बाइकका सरसामानसँगसँग परिचित हुँदै गइन्। त्यही बेला उनको ‘तालिम’ रोकियो।

उनी आमा बनिन्।

‘काम भर्खरै सिक्दै थिएँ। केही सामान चिन्ने पनि भएकी थिएँ। छोरा भएपछि त अब केही गर्न सक्दिनँ, बालबच्चा स्याहार्दै जिन्दगी जाने भयो भन्ने लाग्यो,’ उनले भनिन्।छोरा हुँर्कदै गयो। उनले काम सिक्न भने छोडिनन्।सिकारू हुँदैको कुरा हो- एकदिन ग्राहक बाइकको चेन टाइट गर्दिनुस् भन्दै आए। सरस्वतीका श्रीमानले उनैलाई त्यो काम अह्राए।

‘मलाई गर भन्नुभयो, मैले गरिदिएँ,’ उनले दंग पर्दै भनिन्, ‘पछि उहाँलाई भयो त भनेर सोधेँ, ‘हो त्यसरी नै हो गर्ने’ भन्नुभयो। म त खुसीले त्यहीँ उफ्रेकी थिएँ।’एकदिन भने बाइकको क्लचप्लेट बनाउन लाग्दा भाँचियो। उनी खुबै डराइन्।’पछि उहाँले काम सिक्दा यस्तै त हो नि लाटी, नडरा, केही हुन्न,’ भन्नुभयो। त्यसपछि अझ उत्साह थपियो,’ उनले थपिन्।

बाइक बनाउनु केटा मान्छेले मात्र गर्नसक्ने काम ठानेकी उनमा छोरी मान्छेले पनि सक्दा रहेछन् भन्ने आत्मविश्वास बढ्दै गयो। त्यसपछि उनले श्रीमानकै सल्लाहमा बालाजुमा रोयल इन्फिल्डका बाइक बनाउनले तालिम लिन गइन्।’तालिममा ५२ जना पुरूष थिए। म मात्र महिला,’ उनले भनिन्, ‘तर मलाई केही गाह्रो भएन। म मात्र महिला देखेर सबैले हौसला दिन्थे।’

उनले बाइक बनाएको देख्दा ग्राहकले पनि उनलाई हौसला दिन्थे। कसैले त ‘यो रोयल इन्फिल्ड बाइक हो, सक्नुहुन्छ त?’ भनेर सोध्दा हाँस्दै उनीहरूकै अगाडि बनाइदिने गरेको उनी बताउँछिन्।बाटोमा हिँड्ने मान्छेले मैले काम गरेको देख्ने रहेछन्। पछि बाइक बनाउनुछ। को छ, भन्दै आउँथे। मैले भन्नुस् न के गर्नुपर्यो म बनाइदिन्छु भनेपछि उनीहरू छक्क पर्दै प्रश्न गर्थे,’ उनले सुनाइन्।

काम जानेर आफ्नै वर्कशपमा उनी व्यस्त हुन थालिन्। पछि काममा राखेका कामदारलाई पनि उनी आफैंले सिकाइन्। उनका श्रीमान् कहिले वर्कशपमा बस्छन् त कहिले फिल्मको काममा जान्छन्। उनीहरूको एक छोराका साथै सानी छोरी पनि छन्।म जस्तो पनि बाइक बनाउन सक्छु। तर अझै पनि पर्फेक्ट छु जस्तो लाग्दैन। श्रीमान मेरो गुरू हो, उहाँबाट धेरै सिक्नु छ,’ उनले भनिन्।सरस्वतीले काम सिक्ने बेला काठमाडौंमा वर्कशपहरू थोरै थिए। राम्रो कमाइ हुन्थ्यो।पहिलेजस्तो चल्दैन। तर सकुन्जेल मोटरसाइकलै बनाउँछु,’ सरस्वतीले भनिन्।