कोरोनाका कारण अमेरिकी दूतावासले गर्‍यो डिभी र गैरआप्रवासी भिसाका ‘अपोइन्टमेन्ट’ रद्द

३ चैत २०७६, सोमवार, काठमाडौँ । फैलिँदो कोरोना भाइरस (कोभिड-१९) का कारण काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा ‘अपोइन्टमेन्ट’हरू रद्द गरेको छ। दूतावासद्वारा जारी सूचनाअनुसार २०७६ चैत ४ (भोलि) देखि लागू हुने गरी डइभर्सिटी भिसा (डिभी) तथा गैर आवासीय भिसाका नियमित ‘अपोइन्टमेन्ट’ रद्द गरिएको हो। अमेरिकाको भिसा आवेदकहरूले पहिला नै अन्तर्वार्ताका लागि ‘अपोइन्टमेन्ट’ लिनुपर्छ। अति जरुरी एवं तुरुन्त यात्राका लागि भिसा आवश्यक भएमा आकस्मिक ‘अपोइन्टमेन्ट’ लिन दूतावासले अनुरोध गरेको छ।

विशेष अवस्थाका कारण यस्तो निर्णय गर्नुपरेको भन्दै दूतावसको आधिकारिक ट्विटर ह्यान्डलबाट भनिएको छ, ‘एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ।’