“कमेडी च्याम्पियन” हिमेस पन्तले पाए यस्तो गाडी, मूल्य कति?

काठमाडौँ / नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी सो “कमेडी च्याम्पियन” को उपाधि धादिङका हिमेस पन्तले जितेका हुन् । गत शनिवार च्यासल स्थित कमेडी च्याम्पियनकै स्टुडियोबाट विजेता घोषणा गरिएको हो । फाइनलमा पुगेका ३ प्रतिस्पर्धी मध्य सर्वाधिक भोट ल्याउँदै पन्तले उपाधि चुमेका हुन् । हिमेस पन्त सँगै इटहरीका सुमन कोइराला र रोल्पाका खड्ग बहादुर पुन फाइनलमा पुगेका थिए ।

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याटसन रेडी गो १.० एल गाडी हस्तान्तरण गरेको छ । पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत १ गते ललितपुर च्यासलस्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याटसन रेडी गो १.० एल गाडीको साँचो हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

ड्याटसन रेडी गो १.० एल नेपाली बजारमा उपलब्ध इन्ट्री लेभलको गाडी हो । यसमा १.० लिटरको इन्टेलिजेन्ट इन्जिन रहेको छ । यसमा क्विक कुल एसी, डे टाइम रनिङ लाइट, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, ईएएस अर्थात इनर्जी एब्जर्बिङ स्टेयरिङ र एयरब्याग, सेन्ट्रल लकिङ सिष्टम र रिमोट कि आदि सुविधा उपलब्ध छन् । हाल ड्याटसनको यो गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ ।