रोनाल्डोलाई अर्को सफलता, २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । पोर्चुगिज राष्ट्रिय टिमका कप्तान तथा इटालियन फुटबल क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जितेका हुन् । उनले लियोनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पार्दै उक्त अवार्ड हात पारे ।  दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते । यस्तै म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिगका उनी विजेता हुन् । यस्तै ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । लेवान्डोस्कीले रोनाल्डो र लियोनल मेसीलाई पछि पारे । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । बायर्नले क्लब अफ दि इअरको अवार्ड जित्यो । स्पेनका दुई खेलाडी गोकिपर इकर कासियास र डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड प्राप्त गरे । यस्तै स्पेनिस क्लब रियल मड्रिड क्लब अफ दि सेन्चुरी र पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी बन्न सफल रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *