कुलमान घिसिङले चलाए नेपालमा बनेको पहिलो विद्युतीय बाइक

नेपालमा लोडसेडिङ हटाएर ख्याति कमाएका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमै बनेको पहिलो विद्युतीय मोटरबाइक यात्रीमा राइड लिएका छन् ।

पेट्रोल इन्जिनभन्दा शक्तिशाली यात्री बाइक नेपालमै निर्माण गरिएको हो । यो बाइक ६ जना नेपाली युवा इन्जिनियरहरूले विकास गरेका हुन । सन् २०१७ डिसेम्बरबाट शुरु भएको यो परियोजना अन्तर्गत पहिलो विधुतीय बाइक ‘पी-०’ सन् २०१९ को अन्त्यतिर सार्वजनिक गरिएको थियो ।

वातावरणमैत्री यस विद्युतीय बाइकको हालै व्यावसायिक स्केलमा सार्वजनिकीकरण गरिएको हो । यस बाइकको बडी शत प्रतिशत कार्बनफाइबरबाट निर्माण गरिएको छ भने यसले ३० किलोवाट/४० हर्सपावर शक्ति उत्पन्न गर्छ ।

यसको ब्याट्री ८० प्रतिशत चार्ज हुन २ घण्टा समय लाग्छ भने एकपटकको चार्जबाट दुई सय ३० किमी यात्रा गर्न सकिने बताइएको छ ।