१८ हजार अक्सिजन सिलिण्डर तातोपानीमा नाकामा आइपुग्यो

२०७८ जेष्ठ २,  काठमाडौं । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो ।

नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । यस अघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ ।

थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ ।

कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।

हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले जानकारी दिए ।

कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा सरकार केन्द्रित रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।