चर्चित गायिका तथा मोडल ज्योति मगर, भन्छिन्- दिनमा सुत्छु, रातमा उठ्छु – कारण यस्तो

काठमाडौं- चर्चित गायिका तथा मोडल ज्योति मगर प्रायः स्टेज कार्यक्रममा दौडिरहने कलाकार हुन्। स्टेजमा दर्शकको मन जित्न अनेक हर्कत गर्ने उनी कोभिड शुरु भएदेखि नै दर्शकको भिडमा जान पाएकी छैनन्।

त्यसो त, केही दर्शकको साथमा चैत ३१ गते अर्थात् नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भने उनले स्टेजको भोक केही हदसम्म मेटाएकी थिइन्।

यो बीचमा दर्शकको आँखा अगाडि रहन उनले रियालिटी सो ‘डान्सिङ वीथ स्टार्स नेपाल’मा कम्मर मर्काइन् त कहिले फुडगन्ज नामको एपको खाना ग्राहकलाई डेलिभरी गरिन्।

कोभिड अघिसम्म व्यस्त जिन्दगी थियो उनको। रोल्पामा जन्मिएकी ज्योति ‘उही मुलाको सिन्की, उही मुलाको चाना’, ‘जिम्वाल बाउको छोरी’ लगायतका लोकदोहोरी गीत गाएर चर्चामा आइन्।

जब चर्चामा आइन्, उनले निकै व्यस्तताबाट आफूलाई अगाडि बढाइन्। प्रायः समाचार र गसिपमा छाउन अनेक हर्कत गर्नेदेखि स्टेजमा छोटा कपडा लगाएर दर्शक नचाउने काममा उनलाई अरु कलाकारले उछिन्न सकेनन्।

उनै व्यस्त गायिका तथा मोडल ज्योति मगर कोभिडको समयमा भने फुर्सदिली बनेकी छन्। अहिले सरकारले निशेधाज्ञा जारी गरेपछि झनै उनी एकै ठाउँमा थुनिन बाध्य छिन्। दिनभर ज्योति मगर के के गर्छिन् त ?

ज्योतिको एक्लो दैनिकी उनकै शब्दमा :

निकै हुलमुल र भिडभाडमा समय बिताउने बानी परेकाले होला अहिले मलाई निकै गाह्रो भइरहेको छ। बस्दा बस्दा जिउ दुख्ने, आलस्य हुने जस्ता समस्या देखिन थालेका छन्।

दिनभर पनि सुतिरहेकी हुन्छु, रातभर उठिरहेकी हुन्छु। मलाई त अचेल कुन दिन हो, कुन रात त्यो पनि पत्तो हुँदैन। खै के भएको हो, जतिबेला पनि सुत्न मन लाग्छ।

मेरो काम पनि एक्लै गर्न नमिल्ने नै हो। संगितको काम टिमवर्क हो। अहिले एक्लो परेकाले संगीतका काम भएका छैनन्। स्टेज सबै बन्द छ भन्ने कुरा त थाहा नै छ।

म योजना नबनाइ हिँड्ने मानिस परें। कहिल्यै यस्तो समय आउला, यतिधेरै फुर्सद होला भन्ने नै लागेन। त्यही भएर फुर्सद भए, एक्लो परे यस्तो गर्छु, उस्तो गर्छु भनेर कुनै योजना बनाइनँ।

म पहिले पनि योजनाविहीन थिएँ, अहिले पनि हालत त्यस्तै छ। पहिले योजना बनाएर अगाडि बढे जीवन बोरिङ होला भन्ने लाग्थ्यो। अहिले योजना नबनाएकाले जीवन बोरिङ बनिरहेको छ। मान्छेको जातलाई जे गरेपनि सुख नहुने रहेछ।

फुर्सद भएको समयमा यसो संगीतको रियाज गरे पनि हुने हो। तर, खाली दिमाग सैतानको घर भन्छन् नि, चाहिने काम त गर्नै मन लाग्दैन। फेरि हाम्रो बानी पनि जब परीक्षा आयो, त्यही बेलामा मात्रै पढ्ने हुन्छ नि, रियाजको केसमा पनि त्यही भइरहेको छ। अहिले कार्यक्रम पनि छैन। रेकर्डिङ नि छैन के को रियाज गर्नु जस्तो लाग्छ।

म आजभोलि सामाजिक सञ्जालहरु पनि निकै कम चलाउँछु। फेसबुक खोल्यो खाली डरलाग्दा र मान्छे मरेका समाचार मात्रै आउँछ। बरु यसो टिकटक भने चलाएर रमाइलो गर्छु। अरुले बनाएका रमाइला टिकटक हेरेर समय बिताउन मन परिरहेको छ अहिले। कहिलेकाहीँ मूड चले टिकटक बनाउँछु पनि।

यो समयमा मैले पुराना फिल्म पनि हेरें। नेपाली र केही भोजपुरी फिल्म हेर्दा नयाँ कुरा केही पाइनँ। मलाई फेसन बढी चाख लाग्ने भएकाले त्यो समयका पहिरनले भने तान्यो।

कहिलेकाहीँ मूड चलिहाल्यो भने एक्ससाइज पनि गर्छु। तर, जति व्यस्त जिन्दगी हुँदा एक्सर्साइजले फुर्तिलो अनुभूति हुन्थ्यो त्यो अहिले हुँदैन। पहिले एक घण्टा एक्सर्साइज गर्‍यो, चिसो पानीले नुहायो, फ्रेस भयो र बाहिर निस्क्यो हुन्थ्यो। त्यो एक घण्टाको एक्सर्साइजले दिनभर फुर्तिलो बनाउँथ्यो। तर, अहिले दुई घण्टा एक्सर्साइज गर्‍यो अनि २२ घण्टा सुत्यो।

यही एक्सर्साइजकै कुराले मलाई के फिल गरायो भने, हामी शारीरिक रुपमा मात्रै हैन, मानसिक रुपमा पनि फुर्तिलो हुन जरुरी छ। दिमागलाई जति धेरै व्यस्त बनायो हामी त्यति फुर्तिलो र चलायमान हुने रहेछौं।

अहिले काठमाडौंमा म दिदीका छोराहरुसँग बस्छु। उनीहरु आ–आफ्नो कोठामा मोबाइल, ल्यापटप चलाएर बस्छन्। त्यही भएर एक्लो छु भन्दा फरक पर्दैन। मुख बोल्ने साथी नहुँदाको पीडा अनुभूति गरिरहेकी छु।

अघिल्लो लकडाउनमा त म रोल्पामा आमा बुबासँग थिएँ। समय बित्न यति गाह्रो होला भन्ने महशुस नै भएन त्यो समयमा। अहिले भने गाह्रो भएको छ।यही मेसोमा मैले युट्युब हेरेर मःम पकाउन जानें।

मःमको अचार पनि मीठो बनाएँ। आफूले पकाएर आफैंलाई मन परेको यही परिकार हो। यो बाहेक मैले चिकेनको अचार बनाउन जानें। स्यान्डविच पनि बनाउँन त जानें तर, खासै मीठो बनेन।

सम्बन्धित समाचार

Leave a Comment