पारस खड्काले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज विहान सामाजिक सन्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् । करिव डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

उनको कप्तानी समयमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गरेको थियो । सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारीमा समेत थिए ।

आफुले जिवनमा देखेको मुख्य सपना नेपाली क्रिकेटको उन्नती भएको र यसका लागि सम्पुर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता पर्ने भन्दै उनले इमान्दारीताका साथ काम गर्ने हो भने नेपाली क्रिकेट धेरै माथि पुग्ने उल्लेख गरेका छन् ।

‘क्रिकेटरको रुपमा मैले आफ्नो मन,वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भुमिका निर्वाह गरें,अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,मैदान भित्रका यी दुई दशक,जीवन रहुन्जेल,मिठो यादका रुपमा म सँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुय्राउने छौँ भन्ने विश्वास लिएको छु’ पूर्व कप्तान पारसले फेसबुकमा लेखेका छन् ।

पारस खड्का नेपाली क्रिकेटको एक बलियो पिल्लरका रुपमा रहेका थिए । उनी नेपालका लागि एकदिवशीय तथा टी- २० दुबै फम्र्याटमा शतक प्रहार गर्ने पहिलो क्रिकेटरका रुपमा रहेका छन् ।

युएई र सिंगापुरविरुद्ध पारस खड्काले २०१९ मा शतक बनाएका थिए भने सन् २००८ देखि कप्तानको भुमिकामा रहेका पारसले सोही वर्ष नेपाली क्रिकेटको कप्तानको जिम्मेवारी छाड्दै ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी सुम्पिएका थिए । अलराउण्डर पारस खड्का नेपाली क्रिकेटको सर्वाधिक सफल कप्तान हुन् ।

उनको कप्तानीमा नेपालले क्रिकेट इतिहासमै पहिलोपटक २०१४ को टी -२० विश्वकप खेल्ने सुनौलो मौका पाएको थियो । नेपालले उनको कप्तानीमा २०१८ मा पहिलोपटक एकदिवशिय मान्यतासमेत पाएको थियो ।

नेपाली भुमिमा गत फागुनमा सम्पन्न नेदरल्याण्ड्स,मलेसिया र नेपाल सम्मिलीत त्रिदेशिय प्रतियोगिता नखेलेका पारसले घरेलु क्रिकेटमा भने आफ्नो भरपुर साथ र सहयोग रहने उल्लेख गरेका छन् ।

नेपाली क्रिकेटमा दुई दशकदेखि अभिभावकको रुपमा रहेका पारस खड्काको नेपाली क्रिकेटप्रतिको योगदान र लगाव सम्मानयोग्य रहेको छ ।

सम्बन्धित समाचार

Leave a Comment