म्यानचेस्टर युनाइटेडमा फर्किएपछि रोनाल्डोले लेखे यस्तो…

काठमाण्डौं । इङ्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको फिर्ती सम्पन्न भएको छ। समर ट्रान्सफरको अन्तिम दिन मंगलबार म्यान युनाइटेड र रोनाल्डोबीच सम्पूर्ण प्रक्रिया सम्पन्न भएको हो।

म्यान युनाइटेड फर्किएपछि रोनाल्डोले आफू जहाँ हुनुपर्ने, त्यहाँ पुगेको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले म्यान युनाइटेडप्रतिको माया व्यक्त गरेका छन्।

म्यान युनाइटेड छाडेको १२ वर्षपछि रोनाल्डो फेरि सोही क्लबमा फर्किएका हुन्। म्यान युनाइटेडले १५ मिलियन युरोमा उनलाई इटालियन सिरी ए क्लब युभेन्ट्सबाट भित्र्याएको हो।

म्यान युनाइटेडले ३६ वर्षीय रोनाल्डोसँग २ वर्षको सम्झौता गरेको छ, एक वर्ष थपिन सक्ने शर्तसहित। ‘जजसले मलाई चिनेका छन् उनीहरुलाई थाहा छ म्यान युनाइटेडप्रति मेरो अनन्त माया’, उनले भनेका छन्।

‘म्यानचेस्टर युनाइटेडमा बिताएका समयहरु स्मरणीय थिए। हामीले हिँडेको बाटो सुनौलो अक्षरले लेखिएको छ। म्यान युनाइटेडमा म फर्किएको खबर विश्वब्यापीरुपमा घोषणा भइरहँदा मलाई जे महसुस भइरहेको छ, शब्दमा व्यक्त गर्न सक्दिन’, उनले भनेका छन्। म्यान युनाइटेडविरुद्ध खेलिरहँदा विपक्षी समर्थकले आफूलाई दिएको समर्थनले निकै सम्मानित महसुस हुने गरेको पनि अनुभव साटेका छन्।

उनले स्टाटसको अन्त्यमा भनेका छन्-म अहिले यहाँ छु। म जहाँ हुनुपर्ने, त्यहाँ आइपुगेको छु। यसलाई फेरी एकपटक सम्भव बनाऔँ। सर एलेक्स, यो तपाईका लागि हो।

म्यान युनाइटेडमा प्रशिक्षक फर्गुसनको स्वर्णिम समयताका रोनाल्डो त्यहाँ आबद्ध भएका थिए। फर्गुसनले नै उनलाई म्यान युनाइटेडमा भित्र्याएका हुन्, सन् २००३मा।

६ वर्ष उनले त्यहाँ खेल्दा तीन प्रिमियर लिग र एउटा च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए। रियल म्याड्रिड जानुअघि सन् २००८ का लागि उनले फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए।

सम्बन्धित समाचार

Leave a Comment