सिद्धार्थको यादमा शहनाजले गाएको भावुक गीत ट्रेन्डिङको नम्बर एकमा (भिडियो सहित)

काठमाडौं– टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाको असामयीक निधनपछि उनकी सबैभन्दा नजिककी साथी अभिनेत्री शहनाज गिलले आफूलाई सामाजिक सञ्जालबाट पूर्ण रुपले टाढा राखेकी थिइन् ।

यद्यपि, उनका प्रशंसकहरु भने शहनाजले सामाजिक सञ्जालमा फर्किएर आफैंलाई गीतमार्फत प्रस्तुत गरुन् भन्ने चाहन्थे ।अन्ततस् शहनाजले २९ अक्टोबर अर्थात शुक्रवार आफ्नो मौनता तोडेकी छिन् ।

शहनाजले सिद्धार्थ शुक्लालाई आफ्नो नयाँ गीत ‘तू यहीं है’ मार्फत श्रद्धाञ्जली अर्पण गरेकी छिन् । उक्त गीतमार्फत शहनाजले सिद्धार्थले संसार छाडेर गए पनि उनी अहिले पनि उनको मनमा तथा उनको सम्झनामा छन् भन्ने कुरा दर्शाउने कोशिस गरेकी छिन् ।

यो गीतको भिडियोको थालनी शहनाजको संवादबाट हुन्छ, जहाँ उनले बिग बोस सीजन १३ मा बिग बोसको घर भित्र सिद्धार्थ शुक्लालाई भनेकी थिइन्–‘तिमी मेरो हौ, ठिक छ, हो तिमी मेरै हौ । मलाई गेम जित्नु छैन, मलाई तिमी जित्नु छ ।’

भिडियोमा सिद्धार्थ शुक्ला तथा शहनाज गिलले बिग बोसको घरमा बिताएका स्मरणीय क्षणहरुलाई समेटिएको छ ।

यो गीत शहनाज गिलले नै गाएकी छिन्, जसलाई राज रंजोधले रचना गर्नुका साथै संगीतबद्ध समेत गरेका छन् । यो गीतको भिडियोको निर्देशन बाल देवले गरेका हुन् ।

उक्त भिडियो यूट्युबबाट सार्वजनिक भए लगत्तै भाइरल भएको छ । प्रशंसकहरुलाई भावुक बनाउने उक्त भिडियो यतिबेला यूट्युबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा छ ।

२४ घण्टा नबित्दै भिडियो एक करोड ४१ लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोले १८ लाख बढी लाइक पाएको छ भने झण्डै डेढ लाख प्रतिक्रिया पाएको छ ।

सम्बन्धित समाचार

Leave a Comment